छलफल, अध्ययन, विचार मंथन र प्रस्तुतिकरण वैदिक सभ्यताका ज्ञान प्रसारण गर्ने तरिकाहरु थिए । यसलाई एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण गर्ने लक्ष्य यस्ता छलफलहरु हुन्थे । यसै तरिकालाई प्राचिन यूनानी तथा ग्रीक दार्शनिकहरुले पनि प्रयोग गर्ने गर्थे । कानून व्यवसाय अध्ययन र छलफल विना प्रवर्धन हुन सक्दैन भन्ने विश्वास सर्वोच्च अदालत बार एशोसिएशन राख्दछ । किनभने यो पेशा भनेकै द्वन्द्वात्मक पद्धत्ति (Dialectic Method) मा फक्रने पेशा हो । यसका लागि ई–बुलेटिन यस्तो जीवन्त प्ल्याटफर्म हुनसक्छ, जसका माध्यमबाट व्यावहारिक अनुभव, संग्रहित ज्ञान र त्यसलाई क्रियान्वित गर्ने क्षमता अभिवृद्धि गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।
सर्वोच्च अदालत बार एशोसिएशनसँग आवद्ध सदस्यज्यूहरुको अनुभव/अनुभूति, ज्ञान तथा दक्षता आदान–प्रदान गर्ने, सेवाग्राहीहरुको अदालतप्रतिको गुनासा तथा सुझावहरु सम्बन्धित निकाय समक्ष पुर्याउने अदालतबाट भएका फैसला तथा आदेशहरुको संक्षिप्त विवरण द्रुतगतिमा जनता समक्ष पुर्याउने, न्यायाधीशहरुका प्रस्थिति र मनस्थिति पनि सुन्ने बुझ्ने र स्थान दिने ई–बुलेटिनको मूल ध्येय हुनुपर्छ । सर्वोच्च अदालत बार एशोसिएशनका गतिविधिहरुलाई सामयिक रुपमा पाठक तथा हिताधिकारी समक्ष पुर्याउने एक प्रभावकारी माध्यम पनि हुनुपर्छ ई-बुलेटिन । त्यसैले यो ई-बुलेटिन सर्वोच्च अदालत बार एशोसिएशन चिहाँउने एक उत्तम अभौतिक प्ल्याटर्फ (Virtual Platform) बन्न सकोस् एक आँखिझ्यालको रुपमा भन्ने चाँहना राख्नु अत्युक्ति हुँदैन होला ।
अन्तमा, हामी सबैलाई ज्ञानको खोजी गर्ने अभिप्रेरणा मिलोस् र त्यसका लागि यो ई-बुलेटिन एउटा सशक्त प्ल्याटफर्म बनोस् ! ई-बुलेटिन प्रकाशनको यो पहिलो प्रयासमा म यही मंगलमय शुभकामना दिन चाँहन्छु। धन्यवाद !
मेघराज पोखरेल
माननीय न्यायाधीश, सर्वोच्च अदालत
पूर्व अध्यक्ष, सर्वोच्च अदालत बार एशोसिएशन