वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको नेतृत्वमा २०३० साल फागुन ८ गतेका दिन सर्वोच्च अदालत बार एशोसिएशनको स्थापना भै स्वर्णमहोत्सव समेत मनाई सकिएको छ । निरंकुश पञ्चायती व्यवस्थाको विषम परिवेशका बीचमा स्थापना भएको यस बार एशोसिएशनले मानव अधिकार, विधिको शासन, संवैधानिक सर्वोच्चता, स्वतन्त्र सक्षम न्यायपालिका र कानून व्यवसायीको हकहितका सवालमा स्थापना कालदेखि पूर्व कार्यसमिति र अग्रज कानून व्यवसायीहरूले खेल्नु भएको अहम् भूमिकाले यस बारको अपरिहार्यता र औचित्य पुष्टि गर्दै आइरहेको छ भने एक्काईसौ शताब्दिको कृतिम वैद्धिकता (AI) को युगले हाम्रा कामको क्षेत्रमा थप चुनौती थपेको छ ।
संविधान र कानूनको अन्तिम व्याख्या गर्ने र संविधानको संरक्षक सम्मानित सर्वोच्च अदालत सँग जोडिएको यस बार एशोसिएशनले विधिको शासन, निर्भीक, स्वतन्त्र र सक्षम न्यायपालिका, संवैधानिक सर्वोच्चताको भूमिका उल्लेख्य रही आएको छ भने आगामी दिनमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेछ । प्रत्येक २ वर्षमा हुने कार्यसमितिको परिवर्तन सँगै नेतृत्वले अग्रजहरूबाट सम्पादित कामको निरन्तरता र थप नवीनतम सोचका साथ काम गर्नु हाम्रो परम्परागत अभ्यास बनेको छ । यसै सन्दर्भमा वर्तमान कार्यसमितिको नेतृत्वमा रही हाल सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएका माननीय मेघराज पोखरेलज्यू कार्यसमिति अध्यक्ष रहँदाकै अवस्थामा परिकल्पना गरी वार्षिक कार्ययोजना अनुरुप E-Bulletin प्रकाशनको कामलाई हामीले कार्यान्वयनमा ल्याएका छौं ।
E-Bulletin को माध्यमबाट सर्वोच्च अदालत बार एशोसिएशनका गतिविधि प्रकाशन प्रसारण गर्ने, महत्वपूर्ण सूचना सम्वद्ध सरोकारवालालाई जानकारी गराउनु हाम्रो उद्देश्य रहेको छ । यो हाम्रो पहिलो प्रयास हो । सबैको रचनात्मक सुझावबाट E-Bulletin थप परिष्कृत र परिमार्जन गर्दै लगिने छ ।
अन्तमा, E-Bulletin सम्पादन समितिका संयोजक कोषाध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल, सदस्यहरू अधिवक्ता प्रदिप कुमार श्रेष्ठ, अधिवक्ता शशी बस्नेत, अधिवक्ता सतिश राज मैनाली, अधिवक्ता विकास भट्टराई, अधिवक्ता नानीबाबु दाहाल, कार्यसमिति परिवार, प्रशासनिक एवम् प्राविधिक पक्ष सबैलाई विषेश धन्यवाद ज्ञापन गर्दछु ।