सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

परिचय

सर्वोच्च अदालत बार एशोसिएशन एक व्यावसायिक संस्था हो । स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, संवैधानिक सर्वोच्चता,  विधिको शासन, लोकतन्त्र र मानवअधिकारका लागि दृढतापूर्वक आफ्नो काम, कारबाही अगाडि बढाउन र सदस्यहरुको हकहित, मर्यादा एवम् वृत्ति विकासका काम गर्ने उद्देश्यले तत्कालीन कानूनमा स्नातक गरी सर्वोच्च अदालतमा कानूनी अभ्यास (वकालत) गर्ने कानून व्यवसायीहरूको सक्रियतामा वि.सं. २०३० साल फागुन ८ गते सर्वोच्च अदालत बार एशोसिएशनको स्थापना भएको हो ।

२००८ साल साउन ७ गते प्रधान न्यायालाय ऐन, २००८ बमोजिम तत्कालीन प्रधान न्यायालयको पुनर्संरचना गरी प्रधानन्यायाधीश हरिप्रसाद प्रधानलाई नियुक्ति गरेपछि उहाँको सक्रियतामा साविक मुलुकी ऐन अ.ब.१६ मा व्यवस्थित मुद्दाको रोहमा पक्षको तर्फबाट बोलिदिने व्यक्तिलाई वकीलको संज्ञा दिई नेपालमा सर्वप्रथम वकालत प्रथाको प्रारम्भ भएको थियो ।

सर्वप्रथम सर्वोच्च अदालत नियमावली, २०१३ को परिच्छेद ३ मा वकीलको प्रबन्ध भएपछि २०१३ साल पुस ७ गते वरिष्ठ अधिवक्ता देवनाथप्रसाद वर्माको अध्यक्षतामा बार एशोसिएशनको स्थापना भएको थियो । २०१३ साल कार्तिक ५ गते नेपाल ल कलेजको स्थापना भएपछि कानूनमा उच्च शिक्षा स्नातक उपाधि प्राप्त गर्ने व्यक्तिको संख्या बढ्दै गयो । सोही अनुरूप कानूनी सिद्धान्त प्रतिपादन गर्ने सर्वोच्च अदालतमा समेत स्नातक कानून उपाधि प्राप्त कानून व्यवसायी अधिवक्ताबाट वकालत गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने उद्देश्यका साथ २०२५ साल कार्तिक २६ गते कानून व्यवसायी ऐन, २०२५ जारी भयो ।

सोही पृष्ठभूमिमा सर्वोच्च अदालतमा बहस गर्ने प्राज्ञ कानून व्यवसायी वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालत बार एशोसिएशनको स्थापना भएको हो । सर्वोच्च अदालत बार एशोसिएशनका संस्थापकहरू अध्यक्ष श्री कुसुम श्रेष्ठ, उपाध्यक्ष श्री सुशीला सिंह शिलु, सचिव श्री दमननाथ ढुङ्गाना, कोषाध्यक्ष श्री बलराम काफ्ले, र सदस्यहरूमा श्री मधुप्रसाद शर्मा, श्री लक्ष्मण प्रसाद अर्याल, श्री झुलेन्द्र प्रसाद छतकुली, श्री सुशीलकुमार सिन्हा, श्री रामकृष्ण गौतम, श्री वसन्तराम भण्डारी, श्री अम्वरबहादुर पाण्डे हुनुहुन्थ्यो । स्थापना मिति २०३० फागुन ८ गतेको  सर्वोच्च अदालत बार एशाेसिएशनको प्रथम बैठकले प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिन बैशाख २६ गते कानून दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।  साेही अनुरुप हालसम्म  निरन्तर आफ्नो उद्देश्यमा दृढ संकल्पित भई  विभिन्न गतिविधिमा सक्रिय रहेको छ ।